काठमाडौं, १२ पुस । प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीलाई निलम्बन गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको छ ।

सुन व्यापारीसँग घुस लिएको आरोप लागेपछि डिएसपी केसीलाई निलम्बन गर्न गृहलाई सिफारिस गरिएको हो ।

ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाइ पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले अनुसन्धान गरेको थियो ।

उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रुपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा नियन्त्रणमा रहेका केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी नलप्रसाद उपाध्यायले बताए ।