सरसफाइसँगै प्रसिद्ध तीर्थस्थल देवभुमी ‘धनुषाधाम’ आकर्षणको केन्द्र बन्दै

जनकपुरधाम, ११ पुष । धनुषाको धार्मिक पर्यटकीय तीर्थस्थल धनुषाधाममा रहेको पौराणिक धार्मिक महत्त्वको सरोवरहरूको सरसफाइ गरिएको छ ।
सरसफाइपछि ती स्थानहरू सौन्दर्यताले सफा र सुन्दर देखिएका छन् । धनुषमन्दिर÷वाणगंगा संरक्षण तथा सप्ताहिक सरसफाइ अभियानका अध्यक्ष स्वच्छता अभियानी प्रमोदकुमार यादवको विशेष पहलमा स्थानीय युवाहरूले धनुषाधामको शिवधनुष मन्दिर÷वानगंगा र धनुषसागर सौन्दर्यताबारे चासो लिएपछि स्थानीय सरकार एवं सम्बन्धित निकायलेसमेत कदम अगाडि बढाएका छन् ।

धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले धार्मिक आस्थासँग जोडिएका सरोवर सरसफाइमा युवाहरू जुट्नु सराहनीय काम भएको बताए । स्थानीय तहमार्फत विभिन्न भौतिक संरचना निर्माण गरिएको बताउँदै मण्डलले पर्यटक आकर्षण गर्नेखालका थप संरचना निर्माणका लागि पर्यटन विभागलगायत सरोकारवाला निकायलाई आग्रह गरिएकोसमेत जानकारी दिए ।
धनुषमन्दिर र वाणगंगा नदी धार्मिक महिमा र आस्थासँग जोडिएको मात्रै नभई रामायणमा जीवितै वर्णन गरिएको सभ्यता हो । सीताको बैवाहिक प्रसङ्ग अनुसार रामायणकालीन शिवधनुषको टुक्राको अवशेष दर्शनका लागि पवित्र वाणगंगा (लक्ष्मण सरोवर) मा श्रद्धालुहरू स्नान गरी चोखो भएर धनुषमन्दिर दर्शन गरेमा भक्तजनको भाकल पूरा हुने जनविश्वास छ ।

आन्तरिक तथा भारतबाट समेत हजारौँको संख्यामा धार्मिक पर्यटक यहाँ आउने गरेका छन् । यहाँ हरेक बर्ष माघे सङ्क्रान्ति मेला प्रत्येक आइतबारका दिन एक महिनासम्म लाग्ने गर्छ ।
ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस स्थानमा पर्यटन प्रवर्धनका लागि राम्रो वातावरण छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


