महोत्तरीमा मलद्वारमा पेट्रोल छर्केर आगो लगाई एक मजदुरको हत्या, एक पक्राउ, दुई फरार

जनकपुरधाम, १० पुस । महोत्तरीमा मलद्वारमा पेट्रोल छर्केर आगो लगाई एक मजदुरको हत्या गरिएको घटना बाहिरिएको छ ।
जिल्लाको सम्सी गाउँपालिका वडा नम्बर-२ पर्सादेवाड बस्ने ४९ वर्षीय मजदुर मोहम्मद खुर्सैद अन्सारीको मलद्वारमा पेट्रोल छर्केर स्थानीय ३५ वर्षीय मोहम्मद अब्दुल सलामले हत्या गरेका हुन् ।
सलामले गत बुधबार अन्सारीको मलद्वारमा आगो लगाएर उनलाई अचेत अवस्थामा उनकै घर अगाडी फालेर भागेका थिए । अचेत अवस्थामा रहेका उनको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको छ ।
मजदुरी गरेर कमाई गर्ने खुर्सैदलाई सलामले आफ्नो घरमा काम गर्नकालागि बोलाएका थिए । घरमा काम गरेवापत महिनाको १५ हजार पारिश्रमिक दिने सहमति भएको थियो । सोहीक्रममा खुर्सैदले कुनै सामन्य गल्ती गरेकोले सलामले उनको हत्या नै गरेको बताइएको छ ।
अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा सलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सलामले अन्सारीलाई मलद्वारमा पेट्रोल छर्किरहेको भिडियो पनि प्रहरीले फेला पारेको छ ।
इलाका प्रहरी कार्यालय गौशालाले सलामलाई घटना भएकै दिन पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।
उनीमाथि ज्यानमार्ने उद्योग मुद्दा दर्ता गरेर कारबाही प्रकृया अगाडी बढाईसकिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य दुईजनाको खोजी भईरहेको प्रहरी उपरीक्षक पंगेनीले बताए । पक्राउ परेका सलाम लागुऔषध मुद्दामा पहिले पनि दुई पटक पक्राउ परिसकेका छन् ।
मृतकका भाई समजद अन्सारीले दोषीमाथि कडा कारबाही हुनु पर्ने माग गरेका छन् ।
घरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको मृतक अन्सारीका ६ सन्तान छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


