क्षीरेश्वरनाथ–१० का वडाध्यक्ष यादवले एक युवकमाथि निर्घात कुटपिट गरेको आरोप

जनकपुरधाम, १० पुस । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–१० का वडाध्यक्षले एक युवकमाथि निर्घात कुटपिट गरेको आरोप लगाइएको छ ।
जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–१० प्रष्टोकीका वडाध्यक्ष रामपदारथ यादव र वडा सदस्य कमलेश यादवले सोही ठाउँ बस्ने अशेश्वर यादवका २२ वर्षीय छोरा विमलेश प्रसाद यादवमाथि निर्घात कुटपिट गरेको आरोप लागेको हो ।
विमलेशका अनुसार शनिबार राति आफूहरु पिकनिक मनाएर डिजे बजाउँदै घर फर्किरहेको बेला कमलेश र रामपदारथले चोहर्बा भन्ने ठाउँमा बिच बाटोमै रोकी आफूलाई कुटपिट गरेको दुःखेसो सुनाए ।
उनले भने, ‘उनीहरुले मेरा अन्य साथीलाई धाकधम्की दिएर त्यहाँबाट भगाईदियो । मलाई एक्लै घेरेर बाँस, इँटालगायतले निर्घात कुटपिट गर्न थाल्यो । म अचेत अवस्थामा पुगेपछि उनीहरुले मलाई एक्लै छाडेर भागे ।’
दायाँ छाती, टाउको, चिउँडो, आँखा, नाक, कानलगायत शरीरको अधिकांश भागमा चोट लागेको पीडितले बताए ।
पीडितका साथीद्वय गोविन्दकुमार राम र सुनिलकुमार रामले पनि आफूहरु पिकनिक मनाएर घर फर्किरहेको बेला बिचबाटोमै अचानक रोकेर विमलेशलाई घेरा हाली कुटपिट गरेको बताए । वडाध्यक्ष रामपदारथले आफूहरुलाई धम्की दिएर त्यहाँबाट भगाएको उनले सुनाए ।
पीडितका पिता अशेश्वर यादवले पूरानो रिसिइबीका कारण वडाध्यक्ष यादवले आफ्नो छोरामाथि निर्घात कुटपिट गर्न लगाएको हुनसक्ने बताएका छन् ।

उनले भने, ‘स्थानीय निर्वाचनकै बेलादेखि रामपदारथसँग मेरो परिवारको मनमुटाव थियो । उनी कांग्रेस र हामी एमाले हौं । हामीले उनीहरुलाई चुनावमा सहयोग नगरेको झोंकमा मौकाछोपी मेरो छोरालाई कुटपिट गरेका छन् ।’
घाइते विमलेशको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
यता, वडा सदस्य कमलेश यादवले शनिबार राति करिव ९ बजेको समयमा आफू घरमा टिभि हेरिरहेको बेला ७÷८ जनाको समूहमा आएका युवाहरुले अचानक आफ्नो घरको मेनगेट तोड्न लागेको बताए ।
उनले आफूले गेट खोल्न जाँदा उनीहरु सबैजना मिलेर आफूलाई समाति कुटपिट गरेको सुनाए । सोहीक्रममा आफूले हल्ला गरेर आफ्नो टोलछिमेकका व्यक्तिहरुलाई बोलाएको उनले बताए । छिमेकीहरु आएको देखेर उनीहरु सबैजना भागिरहँदा विमलेश नामको युवकलाई समातेर छिमेकीहरु कुटपिट गरेको हुनसक्ने कमलेशले बताए ।

कमलेशका अनुसार आफूले नै घटना सम्बन्धमा बुझ्नका लागि वडाध्यक्ष रामपदारथलाई फोन गरेर बोलाएको र उनी आएपछि आफूहरुले प्रहरी बोलाएर विमलेशलाई जिम्मा लगाएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


