जनकपुरधाम, ९ पुस । सशस्त्र प्रहरीले दुई किलो युरेनियमसहित बाराबाट तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुरसिमरा-५ बस्ने २९ वर्षीय रवी चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका-२ बस्ने २२ वर्षीय बृज सहनी रहेका छन् ।

शनिबार दिउँसो करिब २ बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नंं. १२ गण हेडक्वाटर बारा मातहत सुरक्षा वेश जितपुरबाट खटेको टोलीले युरेनियमसहित उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मधेस प्रदेशका डिआईजी गणेश ठाडा मगरले जानकारी दिए ।बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुरस्थित आदित्य होटलको कोठा नं. ४ बाट उनीहरूलाई दुई किलो युरेनियमसहित पक्राउ गरिएको डिआईजी मगरले बताए ।