जनकपुरधाममा ई–लाइब्रेरी स्थापना गर्न लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता
जनकपुरधाम, ०५ असोज । लायन्स क्लब अफ जनकपुरधामले आफ्नो स्वर्ण जयन्ती समारोहको अवसर पारेर जनकपुरधाममा सुविधासम्पन्न ई–लाइब्रेरी (डिजिटल पुस्तकालय) स्थापना गर्ने भएको छ ।
ई–लाइब्रेरी स्थापनाका लागि लायन्स क्लब अफ जनकपुरधाम र मैथिली विकास कोषबीच सोमबार सम्झौता भएको हो ।
सम्झौतामा लायन्स क्लब अफ जनकपुरधामका अध्यक्ष प्रसून मिश्र र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ई–लाइब्रेरी सञ्चालनमा आएपछि पाठकले डिजिटल माध्यमबाट पुस्तक तथा विभिन्न ज्ञानवर्धक सामग्रीमा पहुँच पाउनेछन् । यसले पठन संस्कृतिको विकाससँगै ज्ञान र प्रविधिको प्रयोगलाई समेत प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।
सम्झौता कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधामका पदाधिकारी हरि राउत, विद्याकर साह, निर्मल सिंघानिया, दीपेन्द्र सिंह र लक्ष्मीनारायण साहको सहभागिता थियो ।
त्यस्तै, ई–लाइब्रेरी सफ्टवेयर डेभलपर विदेह सिस्टम्स प्रालिका वात्स्यायन, मैथिली विकास कोषका सदस्य सचिव श्यामसुन्दर शशी तथा कोषका मिडिया प्रभारी शिवम पाण्डे पनि उपस्थित थिए ।
लायन्स क्लब अफ जनकपुरधामका संस्थापक अध्यक्ष डा. जयबल्लभ दास हुन् ।
संस्थाको नेतृत्व गर्दै डा. रामकेवल साह, डा. विजयकुमार सिंह, प्रा. रामकुमार यादव, रामबाबु गुप्ता र कौशल किशोर सर्राफलगायतले सामाजिक सेवा तथा संस्थागत विकासमा योगदान पुर्याउँदै आएका छन् ।
लायन्स क्लब र मैथिली विकास कोषबीचको सहकार्यलाई ज्ञान, प्रविधि तथा मैथिली भाषा संस्कृतिको संरक्षण र प्रवर्द्धनसँग जोडिएको पहलका रूपमा लिइएको छ ।
स्वर्ण जयन्तीको अवसरमा स्थापना हुन लागेको ई–लाइब्रेरीले जनकपुरधामको अध्ययन तथा अनुसन्धानको वातावरणलाई थप प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।







