रौतहट, ०५ असोज । मकवानपुरका तीन किशोरीलाई परिवारको जानकारीबिना भारततर्फ लैजान खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको बिहारस्थित पूर्वीचम्पारण जिल्लाको कुण्डवा चैनपुरबाट २३ वर्षीय सलाउद्दीन अन्सारीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनी पूर्वीचम्पारणको ढाका थाना क्षेत्रअन्तर्गत हारूनी गाउँका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मकवानपुरको राईगाउँका १५ वर्षीया ज्योशा राई, १६ वर्षीया नवीना परियार र १७ वर्षीया मनीषा विष्टलाई अन्सारीले भारततर्फ लैजान खोजेका थिए ।

वीरगञ्ज–रक्सौल र गौर नाकामा सुरक्षा निगरानी कडा रहेकाले ग्रामीण तथा वैकल्पिक बाटो प्रयोग गरेर किशोरीहरूलाई भारत लैजान खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भारतीय प्रहरीले जनाएको छ ।

किशोरीहरूलाई प्रलोभनमा पारी भारत लैजान खोजिएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेका अन्सारीको साथबाट एउटा इलेक्ट्रिक स्कुटर, पाँच थान मोबाइल, आधार कार्ड, प्यान कार्ड, नेपाली रुपैयाँ ५१० र भारतीय रुपैयाँ ५२० बरामद भएको प्रहरीले जनाएको छ ।

मोतीहारीका प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातका अनुसार भारतमा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि उद्धार गरिएका किशोरीलाई नेपाल प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइनेछ ।

पक्राउ परेका अन्सारीमाथि भने भारतीय कानुनअनुसार थप अनुसन्धान तथा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालले पनि घटनाबारे भारतीय प्रहरीसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएका छन् ।

भारततर्फको कानुनी प्रक्रिया पूरा भएपछि किशोरीहरूलाई जिल्ला प्रहरी कार्यालय गौरमा ल्याई अभिभावकको जिम्मा लगाउने तयारी रहेको उनले बताए ।