जनकपुरधाम, ०५ असोज । धनुषा प्रहरीले अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सोमबार विभिन्न स्थानबाट खोजतलास गरी उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सवारी अंगभंग मुद्दाका एक जना छन् । उनलाई अदालतले ३ वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । सोही मुद्दाका अर्का एक प्रतिवादीलाई १८ दिन कैद र ३ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।

त्यस्तै, वन पैदावार चोरी मुद्दामा एक जनालाई १५ दिन कैद र ९४ हजार १३६ रुपैयाँ जरिवाना तोकिएको थियो । लागुऔषध मुद्दाका दुई जना क्रमशः १५ दिन र २० दिन कैद सजाय तोकिएपछि फरार रहेका थिए ।

यसैगरी सार्वजनिक अपराध मुद्दामा एक जनालाई १० हजार रुपैयाँ जरिवाना तथा सवारी ज्यान मुद्दामा दुई जनालाई क्रमशः २४ दिन कैद र २ हजार रुपैयाँ तथा २० दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको प्रहरीले जनाएको छ ।

प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको जानकारी दिएका छन् ।