जनकपुरधाम, ९ पुस । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा शनिबार साँझ अज्ञात समूहको गोली प्रहारबाट सोही गाउँपालिका–२ बस्ने करिव ४० वर्षीय धनुक दासको मृत्यु भएको हो । मृत्यु हुने दास मोटर मिस्त्री हुन् ।

गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । उनको बायाँ पाखुरामा गोली लागेको थियो ।

शनिबार साँझ करिब साढे ७ बजे घरकै ग्यारेजमा बसिरहेको बेला दासमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले बताए ।

डीएसपी क्षेत्रीले भारतीय नम्बर प्लेट भएको पल्सर चढेर दुईजनाको समूहमा आएका व्यक्तिहरू दासमाथि गोली प्रहार गरेर भारततर्फ भागेको जानकारी प्राप्त भएको बताए ।

गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुल्न नसकेको उनले जानकारी दिए । सीमा क्षेत्रमा प्रहरी परिचालन गरेर घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

घटनास्थलबाट भारतीय सीमा एक/डेढ किलोमिटरको दूरीमा छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए ।