रौतहट, ९ पुस । रौतहट प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले झन्डै १० लाख मूल्य बराबरको अवैध भारतीय रेडिमेड कपडा बरामद गर्नुका साथै लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले चन्द्रपुर तल्लो बजार स्थित झन्डै १० लाख मूल्य बराबरको रेडिमेड कपडा बरामद गरेको हो ।

भन्सार छली अवैध कपडा भित्र्याएको सूचनाको आधारमा गएको टोलीले लेडिज उलन, कुर्ता सुरवाल, लेहेँगा चुनरीलगायत ९ लाख ९७ हजार ८५० बराबरको विभिन्न कपडा बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिल्ला प्रहरीका निमित्त प्रवक्ता डिएसपी उमाशंकर यादवले बताए ।

त्यसैगरी पसलमा लागुऔषध गाँजा बिक्री गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी माधोपुरको संयुक्त टोलीले माधव नारायण नगरपालिका ५ मिठुअवाका प्रेमलाल साहको घरमा छापामारेको थियो ।

सो क्रममा साहको घरमा साढे दुई किलोग्राम लागुऔषध गाँजा बरामद भएपछि गाँजा सहित उनको श्रीमती वर्ष ५२ की सितापती देवीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर वीरेन्द्र पासवानले बताए ।

गाँजासहित पक्राउ परेकी सितापती देवीमाथि लागुऔषध बेचबिखन सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।