जनकपुरधाम, ९ पुस । नापी कार्यालय धनुषाले जिल्लामा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण सँगसँगै विरुवा वितरण कार्यक्रमको शुरुवात गरेको छ ।

नापी कार्यालय धनुषाले शुक्रबार र शनिबार गरी दुई दिनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२५ लोहनामा एक लालपूर्जा एक विरुवा वितरण गरेको हो ।

पर्यावरण संरक्षण अभियानलाई जोडन लालपूर्जासँगै विरुवा वितरण पनि गर्नुपर्ने वन अधिकृत सुरेश शर्मासँगको छलफल अनुसार कार्यालयले विरुवा वितरणको शुरुवात गरेको छ ।

कार्यालयले यसअघि ट्रायलको रुपमा गत आर्थिक वर्षमा साबिकको देउरी परबाहामा लालपूर्जासँगै विरुवा वितरण गर्दा जनमानसमा सकारात्मक उत्साह प्रदान गरेकोले यसवर्ष पनि निरन्तरता दिइएको कार्यालय प्रमुख सुमन मिश्रले बताए । दुई दिनमा करिब ६०० लालपूर्जासँगै ६०० विरुवा पनि वितरण गरिएको उनले जानकारी दिए ।

कार्यालयका अमिन रामदुलार साहले चालू आर्थिक वर्र्षमा १० हजार लालपूर्जासँगै १० हजार विरुवासमेत वितरण गर्ने योजना रहेको सुनाए ।

कार्यालय प्रमुख मिश्रले यस कार्यकालागि अभिप्रेरित गर्ने वन अधिकृत सुरेश शर्मा, विरुवा उपलब्ध गराउने डिभिजन वन कार्यालय धनुषा र उत्साहपूर्वक सहभागी हुने सम्पूर्ण स्थानीयबासिन्दाप्रति आभारसहित धन्यवाद ज्ञापन गरेका छन् ।

लालपूर्जासँगै विरुवा वितरण कार्यको सराहना गर्दै स्थानीय वडाध्यक्ष, बुद्धिजिवी, नागरिक समाजलगायत स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।

उनीहरूले भविष्यमा समेत यस प्रकारको पर्यावरण संरक्षण अभियानमा आफूहरूको सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।