काठमाडौं, ९ पुस । काठमाडौंका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौं महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ ।

सुकुम्बासी बासिन्दालाई उनीहरूको थातथलो रहेको जिल्लामा बसोवासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ ।

आज यहाँ नेवार समुदायका विभिन्न १५ संघ, समाज र समिति तथा गुठीले संयुक्त रुपमा पत्रकार सम्मलेन गर्दै बागमती नदी किनारास्थित अनधिकृत बस्तीले काठमाडौंको सांस्कृतिक पहिचानमाथि चुनौती थपेको बताएका हुन् ।

अनधिकृत बस्ती हटाउन महानगरलाई आफूहरूको समर्थन भए पनि बस्तीका बासिन्दालाई पर्ने असुविधालाई नजरअन्दाज गर्न नहुने उनीहरूको भनाइ छ ।

‘काठमाडौं महानगरको अभियानलाई हाम्रो समर्थन छ, तर अनधिकृत बस्तीमाथि पर्न जाने असुविधालाई पनि नजर अन्दाज गर्न सकिँदैन, उहाँहरुलाई राज्यले थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था गरिदिनुपर्छ,’ नेवाःजातीय महासंघका अध्यक्ष मनोज नेवाः खड्गीले भने ।

उनले कुनै पनि नागरिकप्रति आफूहरूको वैरभाव नभएको बताए । आफूहरूको सरोकार काठमाडौंको मौलिक पहिचानको संरक्षणका लागि मात्र भएको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा महासंघसँगै नेपाल खड्गी सेवा समिति, स्यस्यः समाज, केन्द्रीय मानन्धर संघ, नकःमि समाज सेवा पुचः (सङ्घ), राजोपाध्याय समाज, कसाःतध गुथी, नेपाल माली समाज, रजक समुदाय विकास संघ, कपाली समाज, पुतुवार नगरकोटी राजवहाक विकास समाज, श्री नेपाल तण्डुकार समाज, ज्यापु महागुथी नेपाः, दि शाक्य फाउन्डेसन र चित्रकार (पुँ) समाजको सहभागिता थियो ।