मेयर साहका भान्जा महतोले कर्मचारीमाथि हातपात गरेको आरोप

जनकपुरधाम, ९ पुस । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहको भान्जाले कर्मचारीमाथि हातपात गरेको आरोप लगाइएको छ ।
नगरप्रमुख साहका आफ्नै भान्जा शशी महतोले उपमहानगर कार्यालयमा कार्यरत केही करारका कर्मचारीहरुमाथि पाँचौ पटक हातपात गरेको आरोप लगाइएको हो ।
उपमहानगरको गेटमा रहेका कर्मचारीलाई हुलहुज्जत गरि पटक पटक कुटपिट समेत गर्ने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले नाम उलेल्ख नगर्ने शर्तमा बताए ।
उपमहानगरमा गार्ड र सवारी चालकलगायतका केही कर्मचारीहरुमाथि मेयर साहका भान्जा महतोले राति राति मदिरा सेवन गरेर गालीगलौज गर्दै हातपातसमेत गर्दै आएको उनले बताए ।
उनले भने,‘मेयर साहेबका भान्जा महतो मध्यराति करिव १२/१ बजेको समयमा मदिरा सेवन गरेर प्रायः कार्यालयको गेटमा आई गार्डहरुलाई मेनगेट खोल्न दबाब दिन्छन् । गार्डले गेट खोल्न नमान्दा तथानाम गालीगलौैज गर्छन । उनको गाली सहन नसकेर गेट खोल्दा नशामा लठ्ठ परेका उनी झन हातपात पनि गर्न थाल्छन् ।’
उनको यस्तो रबैयाका कारण राति गेटमा ड्युटि गर्ने कर्मचारीहरु आजिज भएको एकजना सवारी चालकले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए ।
उनले कर्मचारीको कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्दै कार्यसम्पादनको उचित वातावरणका लागि आग्रहसमेत गरेका छन् । कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण मिलाउन समेत उनले माग गरेका छन् ।
यस विषयमा बुझ्न नगप्रमुख साहसँग पटक पटक सम्पर्क गर्दा पनि उनको फोन उठेन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


