काठमाडौं, ८ पुस । वर्षौंदेखि नेपाली जेलमा रहेका ‘सिरियल किलर’ फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइएको छ ।

उनलाई केन्द्रीय कारागार सुन्धाराले थुनामुक्त गरेर शुक्रबार अध्यागमन विभागको जिम्मा लगाएको हो ।

सर्वोच्च अदालतले स्वास्थ्य अवस्था र उमेरलाई ध्यानमा राख्दै तत्काल छाड्न आदेश दिएसँगै उनी बाँकी ९ महिना कैद छुट पाएर जेलमुक्त भएका हुन् । अब अध्यागमन विभागबाट आवश्यक प्रक्रिया पूरा गरी उनलाई पुनः नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी भइरहेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देश पठाइदिन बुधबार आदेश दिएको थियो ।

चार वर्षअघि नै शोभराज उमेरले ७४ वर्ष पुगिसकेका थिए । कारागार नियमावलीअनुसार शोभराजले आफू छुट्नुपर्ने दाबी गर्दै यसअघि पनि पटकपटक बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका थिए ।