धरान, ३ पुस । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माफी मागेका छन् ।

आफ्नो फेसबुक पोष्टमा प्रयोग भएको शब्दले दलित समुदायलाई नराम्रो लागेको भन्दै उनले माफी मागेका हुन् ।

कसैलाई ठेस पुर्याउन नियतवश सो स्टाटस नलेखेको स्पष्ट पार्दै मेयर साम्पाङले आफूले समानताको भावनाको साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति, विसंगति, बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको पनि स्मरण गरेका छन् ।

उनले लेखेका छन्, ‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ, त्यसका लागि क्षमाप्रार्थी छु ।’