जनकपुरधाम, ३ पुस । धनुषा प्रहरीले एक महिना कैद सजाय भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१२ कुवा बस्ने प्रदिप मेस्तर रहेका छन् ।

चितवनको माडी नगरपालिका–५ बसन्तपुर घर भई सुरक्षा बेस क्याम्प यदुकुहामा कार्यरत सहस्त्र प्रहरी जवान रामचन्द्र तिवारीको जाहेरीले मेस्तरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।

धनुषा जिल्ला अदालतबाट २०७३ चैत १५ गतेको फैसलाले एक महिना कैद सजाय ठहर भएपश्चात् मेस्तर फरार रहेका थिए ।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पठाइएकोमा कैद भुक्तानका लागि आइतबार कारागार कार्यालय सिन्धुली पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।