धादिङ, ३ पुस । धादिङ प्रहरीले छुट्टाछुट्टै दुई ठाउँबाट गाँजासहित चारजनालाई पक्राउ गरेको छ ।

थाक्रे र धुनीबेँसीबाट गरी ९९ किलो ५०० ग्राम गाँजा समेत बरामद गरिएको हो ।

थाक्रे गाउँपालिका–५, दामेचौरदेखि महादेवबेँसी जाने कच्ची सडकमा शनिबार दिउँसो ग १ त ६१६१ नम्बरको ट्याक्टरको पछाडि टेलरमा ९३ किलो गाँजा फेलापरेको थियो ।

गाँजासहित पक्राउ पर्नेमा थाक्रे–४ का २१ वर्षीय इमान तामाङ र सोही ठाउँका ६० वर्षीय काले तामाङ छन् ।

यस्तै, धुनीबेँसी नगरपालिका–७, नौबिसेस्थित त्रिभुवन राजपथ सडकछेउको खाली जग्गामा शुक्रबार रोकिराखेको प्र ३ ०३–०३ प ११८ नम्बरको स्कुटरमा ६ किलो ५०० ग्राम गाँजा भेटिएको थियो ।

सो गाँजासहित पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ का २६ वर्षीय सन्तोष महर्जन र सोही ठाउँका २१ वर्षीय सर्जन देउला रहेका छन् ।