काठमाडौं, ३ पुस । सप्तरीको कञ्चनरुप नगरपालिकामा ५ जना अति विपन्न मधेसी दलितहरूको मृत्यु भएपछि मधेशी आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

उपचारकै अभावमा उनीहरूको मृत्यु भएको घटनाबारे अनुगमनका लागि आयोगले एक अनुगमन टोली पठाउने भएको छ ।

आयोगकी उपसचिव सबिता डंगोलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यले हरेक नागरिकको उपचारको ग्यारेन्टी गरेपनि वर्षेनी हुने यस्ता घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छन् ।

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगले यस्ता संवेदनशील घटनाहरूको अल्पकालीन र दीर्घकालीन समाधानको लागि विभिन्न समयमा सिफारिस र ध्यानाकर्षण गराएपनि सरकारको बेवास्ताले गर्दा घटनाहरू दोहोरिने गरेको बताए ।

आयोगले पीडित परिवारलाई सहयोग गर्न र बिरामीहरूलाई यथोचित स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।