रौतहट, २ पुस । रौतहटको माधवनारायण नगरपालिकाको लेखा शाखाबाट श्रेस्ता लगायत केही महत्त्वपूर्ण कागजात लुकाउने तीनजना कर्मचारी पक्राउ परेका छन् ।

इन्स्पेक्टर रामराजा केशरीको नेतृत्वमा गएको टोलीले हराएका कागजात अन्य शाखाबाट फेला पारेपछि उक्त रहस्य खुलेको हो ।

पक्राउ पर्नेमा करारमा रहेका कार्यालय सहयोगीहरु अर्जुन साह, रामलखन हजारी र राजेश पंडित रहेको प्रहरीले जनाएको छ । सोधपुछ तथा प्रारम्भिक अनुसन्धानमा उक्त कागजात लुकाउनेमा तिनैजना कार्यालय सहयोगीहरुको हात रहेको देखिएकाले नियन्त्रणमा लिएको इन्स्पेक्टर केशरिले बताए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुणकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको तथा लेखा अधिकृत रामबलम यादवको जाहेरीको आधारमा कार्यबाही प्रक्रिया बढाइने बताएका छन् ।

माधव नारायण नगरपालिकाका लेखा अधिकृत रामबलम यादवले आफू कार्यालयमा नरहेको समय लेखाका केही श्रेस्ता र महत्त्वपूर्ण केही कागजात हराएको बताउँदै आएका थिए ।

शुक्रबार कार्यालय पुगेर कागजातहरुको खोजि गर्दा नभेटेपछि ईलाका प्रहरी कार्यालय गरुडालाई घटना बारे जानकारी गराएको उनले बताए । लगत्तै इन्स्पेक्टर राजाराम केशरीको नेतृत्वमा गएको टोलीले नगरपालिकाका केही कर्मचारीलाई सोधपुछ गर्दा हराएका सबै कागजात योजना फाँटका प्रमुख मेयर बैजुनाथ यादवका भाइ कृष्णनन्दन यादवको दराजमा फेला पारेको थियो ।

मेयर बैजुनाथ प्रसाद यादवले कुनै कार्यक्रम नै नगरी जिल्लाको विभिन्न होटलमा खाना र खाजा खुवाएको लाखौं रकम भुक्तानी गराएको फाइल अख्तियारको हातमा पर्ने डरले मेयरले नै उक्त कागजात लुकाउन लगाएको लेखा अधिकृत यादवले बताएका छन ।

गौरमा रहेको राज होटलको ४ लाख ९ हजार ३ सय, चन्द्रनिगाहपुरको एन प्लाजा होटलको २ लाख ४३ हजार र सोही ठाउँको पशुपति होटलको ४६ हजार रुपिया भुक्तानी दिइएको समेत फाइल फेलापरेको लेखा अधिकृत यादवले बताएका छन् ।

मेयर यादवको तोक आदेशमा भुक्तानी दिइएको उक्त होटलहरुमा नगरपालिकासँग सम्बन्धी कुनै कार्यक्रम नै नभएको पाइएको छ ।

त्यसैगरी मेयर यादवले विभिन्न कार्यक्रम सञ्चालन गर्ने भन्दै नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिश्रिलाल साहको नाममा ८ लाख ५० हजार, प्रशासन शाखा प्रमुख पृथ्वीनारायण यादवको नाममा १२ लाख, करारमा कार्यालय सहयोगीको रुपमा कार्यरत अर्जुण साहको नाममा ८ लाख र करारकै अर्का कार्यालय सहयोगी राजेश पण्डितको नाममा ७ लाख रुपिया अग्रिम भुक्तानी लिएको देखिएको छ ।