काठमाडौं, २ पुस । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले घरेलु हिंसा र लैंगिक हिंसाको मुद्दामा प्रहरी–प्रशासन संवेदनशील नबनेको आरोप लगाएका छन् ।

ओरेक नेपालद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष डा. दत्तले नेहा चौधरीको घटनामा प्रहरी–प्रशासनले पहिले नै संवेदनशील भएर चासो लिएको भए अहिले पीडितले न्याय पाउनको लागि सडक आन्दोलन गर्नु नपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको उत्तर दिँदै अध्यक्ष डा. दत्तले नेहा चौधरीको घटनामा आयोगले उजुरी प्राप्त गरेको बताए ।

प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी अनुसन्धान गर्न भनेको केही दिनपछि सो मुद्दा अदालतमा गएको हुनाले संवैधानिक निकायले त्यसमा हस्तक्षेप गर्न नमिल्ने समेत बताएका छन् ।

अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा सडक आन्दोलन गर्दा बालबालिकाको दुरुपयोग समेत भएको बताउँदै आयोगबाट छिट्टै एउटा टोली स्थलगत अनुसन्धान गर्नको लागि पठाउने जानकारी दिएका छन् ।

अध्यक्ष डा. दत्तले आफू पनि सो घटनामा विशेष ध्यान दिएको र आफै पनि महोत्तरी गएर सम्बन्धित प्रहरी र प्रशासन प्रमुखलाई फास्ट ट्रयाकबाट यो घटनाको अनुसन्धान गर्न निर्देशन दिने कार्यक्रम रहेको जानकारी गराए ।