पर्सा, २ पुस । पर्साको वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न स्थानका फुटपाथ र नालामाथि राखेका निर्माण सामग्री हटाउने कामलाई तीब्रता दिएको छ ।

सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो ।

महानगरले शनिबार बिहान वडा नम्वर–४ विर्ता क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री हटाउनुका साथै लामो समयदेखि सडक छेउमा बेवारिसे अवस्थामा पार्किङ्ग गरेर राखिएको एउटा एम्बुलेन्स पनि हटाएको छ ।

एडभान्स हस्पिटलले लामो समयदेखि पार्किङ्ग गरेर राखेको एम्बुलेन्स महानगरको डोजरले तानेर हटाइएको वीरगञ्ज महानगरका फोहोर व्यवस्थापन तथा हरियाली संयोजक जयप्रकाश खेतानले जानकारी दिए ।

अहिले महानगर र सरोकारवालाहरुको सकृयतामा घण्टाघरदेखि नारायणी अस्पतालसम्म, मकालु होटल हुँदै घडिअर्वासम्मको सडकमा चारपांग्रे सवारी पार्किङ्ग गर्न निषेध गरिएकाले ती क्षेत्रमा पार्किङ्ग गरिएका सवारीलाई कारबाही गर्न थालिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताए ।

तीनपांग्रे र चारपांग्रे सवारी निषेध गरिएका स्थानमा जानकारीका लागि ठाउँठाउँमा बोर्ड राखिएको भन्दै उनले त्यसलाई अटेर गर्दै ती क्षेत्रमा पार्किङ्ग गर्ने त्यस्ता सवारीलाई ५ हजारसम्म जरिवाना गरिने पनि उनले बताए ।