सप्तरी, २ पुस । सप्तरीको राजविराज नगरपालिकाले विभिन्न आन्दोलनमा शहीद भएका नगर क्षेत्र भित्रका शहीद परिवारलाई मासिक ५ हजार एक सय रुपैयाँ उपलब्ध गराएको छ ।

आर्थिक वर्ष ०७९/८० को नगरसभाको निर्णयअनुसार शहीदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक ५ हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ ।

हालसम्म उक्त सहयोग राशि पाउने शहीद परिवारको संख्या तीन पुगेको छ । मासिक ५ हजार एक सयका दरले शहीद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने नगरसभाको निर्णयअनुसार सहयोग राशि वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले जानकारी दिए ।

उक्त सुविधा प्राप्त गर्न शहीद परिवारले शहीद प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिसलगायत आवश्यक कागजात पेस गर्नुपर्ने प्रावधान राखिएको छ । सो अनुसार नगरपालिकाले सूचनासमेत जारी गरेको छ ।

नगरसभाको पहिलो बैठकबाटै निर्णय भए बमोजिम गत साउनदेखिकै मासिक भत्ता जोडेर सहयोग प्रदान गर्न थालिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले जानकारी दिएका थिए ।