सर्लाही, २ पुस । सर्लाहीमा गोली लागेर घाइते भएका सशस्त्र प्रहरीका जवान सुरेश साहलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ ।

शुक्रबार साँझ सर्लाहीको रामनगर गाउँपालिका–७, मा गोली लागेर घाइते भएका सशस्त्र प्रहरी जवान ३२ वर्षीय साहलाई थप उपचारका लागि टिचिङ्ग अस्पताल महाराजगञ्ज पुर्याइएको हो ।

प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पश्चात शनिबार बिहान उनलाई काठमाण्डौं पुर्याइएको हो । काभ्रेमा कार्यरत साह बिदामा घर आएका थिए । शुक्रबार साँझ अरु ३ जना साथीसँगै बसेर खाजा खाएपछि बाहिर निस्कने क्रममा साहमाथि गोली प्रहार भएको थियो ।

सो घटनामा संलग्न सुरेशकै मामाका छोरा धनकौल गाउँपालिकाको धोबिनियाँ टोलका रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुईजना फरार भएका छन् ।

सर्लाहीका एसपी प्रवीण पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादमा गोली चलेको बुझिए पनि थप अनुसन्धान जारी रहेको बताए ।