नेहा र निहारिकालाई पनि प्रहरीले समात्यो

जनकपुरधाम, २९ मंसिर । दाइजोको निहुँमा श्रीमतीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा डाक्टर पंकज चौधरीलाई पक्राउ गरेको केही घण्टापश्चात् उनका श्रीमती नेहा चौधरी र सहयोगी निहारिका राजपुतलाईसमेत प्रहरीले पक्राउ गरेको छ ।
यसअघि महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का ३५ वर्षीय पंकजलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलका अनुसार नेहाले दिएको दाइजोविरुद्धको जाहेरीका आधारमा पंकजलाई पक्राउ गरिएको हो ।
यता, पति डा.पंकज चौधरीको घरको मुख्यद्वारमा निहारिकासहित मंगलबारदेखि धर्ना दिँदै अनशनमा बसेकी नेहाले घर परिसरमा ढुङ्गा बर्साउन थालेपछि त्यहाँ बढेको तनावलाई रोक्न दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
नेहा र निहारिकाले अन्य सहयोगीको साथ लिँदै प्रहरी टोलीमाथि पनि ढुङ्गा बर्साएको डीएसपी पोखरेलले जानकारी दिए । प्रहरीले तनाव नियन्त्रण गर्न पाँच सेल अश्रुग्यास पनि फायर गरेको जनाएको छ । झडपका क्रममा चारजना सुरक्षाकर्मी घाइते भएका छन् ।
आरोपीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइसकेको अवस्थामा नेहा र निहारिकाले कोही नभएको घरमा ढुङ्गा बर्साएर अनावश्यक बखेडा खडा गरेको डीएसपी पोखरेलको भनाइ छ ।
यसअघि गत ४ कार्तिकमा नेहाले पंकजविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घरेलु हिंसाविरुद्ध उजुरी दिएकी थिइन् । त्यसपछि पंकजलाई प्रहरीले ३ दिन थुनामा समेत राखेको थियो ।
नेहा र पंकजबिच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेकाले दूबैको परिवारबिच सहमति अनुसार नै २०७८ फागुन २५ गते जनकपुरधामको एक होटलमा धार्मिक परम्परा अनुसार विवाह भएको थियो ।
तर, विवाह भएको केही महिना नबित्द दूबै बिचको सम्बन्ध चिसिन थाल्यो । गत महिना मात्रै नेहाले पंकजले आफूमाथी शारिरिक तथा मांसिक यातना दिँदै आएको आरोप लगाइन् । दाइजोका लागि पंकजले पटक पटक आफूलाई कुटपिट गरेको नेहाको आरोप थियो ।
यता नेहाले लगाएको यो सबै आरोप निराधार रहेको पंकजको दावी छ । नेहाले आरोप लगाएको एक महिनापछि सञ्चारमाध्यममा आएर पंकजले आफूमाथि नेहाले लगाएको सबै आरोप झुठो, कपोलकल्पित र निराधार रहेको दावी गरेका छन् । उनले उल्टै नेहाले नै आफूलाई मानसिक यातना दिँदै आएको आरोप लगाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


