जनकपुरधाम, २९ मंसिर । धनुषामा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको मिथिला बिहारी नगरपालिका–५ ललियाका महेन्द्र साहकी ४५ वर्षीया पत्नी कालोदेवी साह रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान स्थानीय रामअशिष मण्डलको मिलमा कालोदेवी धान कुटाउन गएको बेला फित्तामा बेरिएर टाउको र शरीर अलग भई घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

घटनास्थलको मुचुल्का गरी मृतक साहको शव पोस्टमार्टका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।