जनकपुरधाम, २९ मंसिर । गुठी संस्थान जनकपुरधामका अमिन प्रभात चन्द्र पोखरेलमाथि कार्यकक्षमै हातपात गरिएको छ ।

बिहीबार दिउँसो करिव साढे १२ बजेको समयमा नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले हातपात गरेका हुन् ।

टेण्डर दर्ता नगर्न दबाब दिँदै एमाले नेता भण्डारीले आफूमाथि कुटपिट गरेको अमिन पोखरेलले बताए ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ बस्ने संजय कुमार मण्डलले टेण्डरका लागि बिहीबार दिउँसो १२ बजेभित्रै आफ्नो टेबलमा फाइल राखेकोले आफूले त्यसलाई दर्ता गर्नलाग्दा एक्कासी आएर भण्डारीले आफूमाथि हातपात गरेको उनले सुनाए ।

भण्डारीले आफूलाई सो टेण्डर दर्ता नगर्न दबाब दिएको र आफूले नमान्दा कार्यालय परिसरबाहिर घिसारेर लग्दै आफूमाथि हातपात गरेको अमिन पोखरेलले बताए ।

यता, टेण्डर दर्ता गर्न आएका संजय मण्डलले आफू समयमै गुठी संस्थानमा आएर कर्मचारीको जिम्मामा फाइल छोडिसकेको दाबी गरे ।उनले अमिन पोखरेलले दर्ता गरिसकेको अवस्थामा बिचमै आएर बखेडा निकाल्दै नेता भण्डारीले दादागिरी देखाउँदै उनीमाथि हातपात गरेको बताए ।

यता, नेता भण्डारीले भने आफूले कर्मचारीमाथि हातपात नगरेको दाबी गरेका छन् । उनले अमिन भण्डारीले दिउँसो १२ बजे पश्चात् पनि टेण्डर दर्ता गरेको आरोप लगाए । आफूले उनलाई समयअवधिभित्रै टेण्डर दर्ता गर्न आग्रह गरेको बताए ।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सिट नम्बर १३५५–७५ को कित्ता नम्बर–५८ मा रहेको ७ कठ्ठा जग्गाका लागि न्यूनतम मूल्य प्रतिकठ्ठा १० हजार रुपैयाँको दरले गुठी संस्थान प्रधान कार्यालयले कार्तिक २९ गते बोलपत्र आह्वान गरेको थियो ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरको गुठी तैनाथी जग्गा लिजमा दिने सम्बन्धी सूचना प्रकाशित भएको ३१ दिन भित्र दिउँसो १२ बजे भित्र वार्षिक भाडादर उल्लेख गरी कुन प्रयोजनको लागि लिजमा लिन खोजिएको हो । सो समेत प्रष्ट हुने गरी कार्यालयमा बोलपत्र सही छाप सिलवन्दी गरी दाखिला गराई सक्नुपर्ने सूचनामा उल्लेख थियो ।

https://www.facebook.com/todayawaj2/posts/pfbid0GUEAJKfornteZLmmEYveKxcvAGU7jv9HZZmD8tWbZQWiVXBcnNy4F1NDS6kP6DJsl