जनकपुरधाम, २८ मंसिर । धनुषाको मिथिला नगरपालिका–५ बस्ने स्वर्गीय ओमप्रकाश महतो ‘दिलीप’ का लागि न्याय माग्दै युवाहरूले धनुषा जिल्ला अदालत अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न विद्यार्थी र युवा संगठन मिलेर निर्माण गरिएको युथ एशोसिएशन अफ नेपाल (यान) आवद्ध युवाहरूले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले ओमप्रकाशलाई पर्यावरण सहिद घोषण गर्नुपर्ने र मुद्दाको छिनोफानो अविलम्ब गर्नुपर्नेलगायतका दुई बुँदे माग गरेका छन् ।

दिलीपको २०७६ पुस २५ गते हत्या गरिएको थियो । उनको मुद्दामा जिल्ला अदालत धनुषामा अझै सुनुवाइ हुन सकेको छैन । पटक पटक पेशी सर्दै आएको छ ।