सिरहा, २८ मंसिर । सिरहा प्रहरीले घाँस काट्न गएकी महिलालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।

मंगलबार करिब ३ बजेको समयमा कर्जन्हा नगरपालिका–१० स्थित अकरहिया जंगलमा घाँस काटन गएकी मिर्चैया नगरपालिका–२ मल्हनिया पिडारी टोल बस्ने २६ वर्षीया लक्ष्मिनिया देवी कापरको हत्या आरोपमा दुई युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

महिलाको घाँटी तथा पेटमा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार भएका मिर्चैया–२ मल्हनिया टोल बस्ने २० वर्षीय राजकुमार महत्तो कोईरी र सोही नगरपालिका वडा नम्बर–१ बस्ने २० वर्षीय नितेश कुमार रजकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए ।

फरार भएका प्रतिवादीहरुलाई मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटेको तालिम प्राप्त कुकुर सहितको टोलीको सहयोगमा वारदातमा प्रयोग भएको खुकुरी सहित दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।