काठमाडौं, २८ मंसिर । सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा धर्ना दिइएको छ ।

सरकारले गत आइतबार मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने मनसायसहित अध्यादेश ल्याइएको भन्दै देशव्यापी विरोध भइरहँदा बुधबार सो अध्यादेश छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना दिएका हुन् ।

थारु कल्याणकारिणी सभा र थारुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिको उपस्थिति थियो ।