दाइजोविरुद्धको कसुरमा डाक्टर पंकज चौधरी पक्राउ

जनकपुरधाम, २८ मंसिर । दाइजोको निहुँमा श्रीमतीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा प्रहरीले डाक्टर पंकज चौधरीलाई पक्राउ गरेको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का ३५ वर्षीय पंकजलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलका अनुसार नेहाले दिएको दाइजोविरुद्धको जाहेरीका आधारमा पंकजलाई पक्राउ गरिएको हो ।
यसअघि गत ४ कार्तिकमा नेहाले पंकजविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घरेलु हिंसाविरुद्ध उजुरी दिइन् । त्यसपछि पंकजलाई प्रहरीले ३ दिन थुनामा समेत राखेको थियो ।
नेहा र पंकजबिच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेकाले दूबैको परिवारबिच सहमति अनुसार नै २०७८ फागुन २५ गते जनकपुरधामको राजदरवार होटलमा धार्मिक परम्परा अनुसार विवाह भएको थियो ।
तर, विवाह भएको केही महिना नबित्द दूबै बिचको सम्बन्ध चिसिन थाल्यो । गत महिना मात्रै नेहाले पंकजले आफूमाथी शारिरिक तथा मांसिक यातना दिँदै आएको आरोप लगाइन् । दाइजोका लागि पंकजले पटक पटक आफूलाई कुटपिट गरेको नेहाको आरोप थियो ।
यता नेहाले लगाएको यो सबै आरोप निराधार रहेको पंकजको दावी छ । नेहाले आरोप लगाएको एक महिनापछि सञ्चारमाध्यममा आएर पंकजले आफूमाथि नेहाले लगाएको सबै आरोप झुठो, कपोलकल्पित र निराधार रहेको दावी गरेका छन् । उनले उल्टै नेहाले नै आफूलाई मानसिक यातना दिँदै आएको आरोप लगाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


