सप्तरी, २७ मंसिर । सप्तरी प्रहरीले किराना पसलमा युरियाको कालोबजारी गर्ने एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका–१० दिघवा बस्ने १९ वर्षीय राजकुमार दास रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दासले सञ्चालन गरेको किराना पसलमा युरिया मल सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मुल्यमा लुकाई छिपाई भण्डारण गरी बिक्री वितरण गर्दै आइरहेको सूचनाको आधारमा प्रहरी टोलीले नेपाल सरकारबाट अनुदानित रासायनिक मल अंकित खेती शक्ती मल लेखिएको मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

प्रतिबोरा ५० किलोको दरले रहेको ३५ बोरा मलसहित दासलाई नियन्त्रणमा लिएर कालो बजार अन्तर्गत मुद्दा दर्ता गरी ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।