काठमाडौं, २७ मंसिर । मधेशी आयोगले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ ।

आयोगका अध्यक्ष विजयकुमार दत्तका अनुसार २० मंसिरमा बसेको बैठकले नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८ बाट उपसमूह १ मा रहेको थारू र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको हो ।

मधेशी आयोगले गरेको निर्णय कार्यान्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन् ।

थारू र मुस्लिम समुदायका विभिन्न संघ–संगठनले थारू र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफूहरूलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए ।