सिरहामा १५ कठ्ठा जमिनमा लगाइएको गाँजा नष्ट

सिरहा, २७ मंसिर । सिरहा प्रहरीले विभिन्न स्थानबाट अवैधरुपमा खेतमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाको गोलबजार, मिर्चैया नगरपालिका र नगर गाउँपालिकाको विभिन्न गाउँहरुबाट करिब १५ कठ्ठा जमिनमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरि नष्ट गरेको हो ।
गाँजा तयार हुन नदिने नीतिअनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि प्रहरीले फडानी कार्यलाई निरन्तरता दिएको सशस्त्र प्रहरी बल ७ नम्बर गणका प्रमुख एसपी रमेश थापाले बताए ।
सानो छँदा नदेखिने र सूचनासमेत नपाउने भएकाले अहिले गाँजा फडानी गरिरहेको प्रहरीको भनाइ छ । सिरहाको पूर्वपश्चिम राजमार्ग आसपास र विशेषगरी उत्तरी क्षेत्रका किसानहरूले प्रहरीलाई झुक्याउन चारैतर्फ उखु, रहर, तरकारी खेती लगाएर बीचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीले बताएको छ ।
कतिपयले करेसाबारी तथा आँगनमा समेत गाँजाको बिरुवा लगाउने गरेको प्रहरीले बताए । परबाट हेर्दा अन्य बालीजस्तो लाग्ने गरी गाँजाको खेती गरेको प्रहरीको भनाइ छ । किसानले प्रहरीलाई छल्न नै त्यस्तो उपाय निकालेको हुन् ।
–न्युज कारखाना
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


