काढा बनाउन इन्कार गर्दा धनुषामा श्रीमानले गरे श्रीमतीको हत्या

जनकपुरधाम, २६ मंसिर । सोमबार बिहान करिव ४ बजेको समयमा धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–५ शान्तिपुर बस्ने २८ वर्षीया रिता देवी भन्ने अमृता कुमारी यादवलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिहरूले घर भित्र प्रवेश गरी धारिलो हतियार प्रहार गरेर घाइते बनाएको खबर गाउँभरि फैलियो ।
घाइते अमृतालाई उपचारका लागि उनका पति विरेन्द्र यादवले जनकपुरधामस्थित काव्या अस्पतालमा ल्याए । उपचारकै क्रममा अमृताको बिहान ६ बजेर १० मिनेटमा मृत्यु भयो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले विभिन्न व्यक्तिहरूसँग सोधपुछ तथा घट्नाको प्रकृतिवारे अनुसन्धान सुरु गर्यो । प्रहरीले मृतक अमृताका श्रीमान विरेन्द्रलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा श्रीमान÷श्रीमति बिच घरायसी कुराहरूलाई लिएर पहिला देखिनै विवाद हुँदै आएको कुरा पत्ता लाग्यो ।
सोमबार बिहान विरेन्द्रले अमृतालाई काढा बनाई दिन भनेपछि उनले इन्कार गर्दा दुबैजनाबिच झै–झगडा सुरु भयो । सोही क्रममा विरेन्द्रले घरमा रहेको सानो बञ्चरोले अमृताको टाउको तथा अनुहारमा काटेर गम्भिर घाइते बनाई अचेत बनाए ।
त्यसपश्चात विरेन्द्र घर बाहिर निस्केर चोरहरू आफ्नो घरमा प्रवेश गरेर श्रीमती अमृतालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको हल्ला फैलाई स्थानीयको सहयोगमा श्रीमतीलाई अस्पतालसम्म लिएर आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।
सोही चोटका कारण अमृताको मृत्यु भएको कुरा अनुसन्धाबाट खुल्न आएको डीएसपी क्षेत्रीले बताए । उक्त घट्ना आफूले नै घटाएको व्यहोरा प्रारम्भिक रूपमा मृतकका श्रीमान् विरेन्द्र यादवले स्वीकार गरिसकेकोले उनलाई पक्राउ गरि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको क्षेत्रीले जानकारी दिए ।
अमृताको हत्या गर्न प्रयोग भएको बञ्चरो मृतकको घर पछाडी रहेको पोखरीबाट बरामद भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


