स्वर्गीय भट्टराईको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना

जनकपुरधाम, २६ मंसिर । मिडिया काउन्सिल मधेस प्रदेशले आफ्ना अध्यक्ष शिवहरी प्रसाद भट्टराईको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
अध्यक्ष भट्टराईको मंसिर १७ गते सर्लाहीको एक होटलमा हृदयाघातका कारण निधन भएको थियो ।
सोमबार जनकपुरधाममा मिडिया काउन्सिलद्वारा आयोजित श्रद्धाञ्जली सभामा वक्ताहरुले भट्टराईको निधनले पत्रकारिता जगतलाई अपुरणीय क्षति पुगेको बताए ।
भट्टराईलाई स्मरण गर्दै मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले सरकारी कामका दौरान उनको निधन भएकाले प्रदेश सरकारले उनको निधनलाई सहादतको रुपमा बुझेको बताए ।
मन्त्री साहले स्व. भट्टराईको स्मृतिमा सञ्चारजगतसँग सम्बन्धित पुरस्कार सहितका अन्य दिर्घकालिन महत्वको कुनै योजना स्थापना गर्नका लागि आएको सुझावलाई प्रदेश सरकारले स्वीकार गरेकोसमेत बताए ।
कार्यक्रममा आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले भट्टराईको निधनले आफूहरुले एउटा असाध्यै निष्ठावान र इमान्दार अभिभावक गुमाएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धनुषाका कार्यबाहक अध्यक्ष अबधेश कामतले स्वर्गीय भट्टराईको सम्मानमा पुरस्कार कोषको स्थापना गर्न मधेस सरकारसँग माग गरे । उनले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिसँग स्वर्गीय भट्टराईलाई प्रेस स्वतन्त्रता सेनानीको उपाधि प्रदान गर्नसमेत माग गरे ।
मिडिया काउन्सिलका निमित्त प्रशासकीय प्रमुख मुनेश्वर यादवले भट्टराई अवसर पाएर पनि बेइमान नबनेको एउटा असल क्रान्तिकारी योद्धा भएको बताए । स्वर्गीय भट्टराई निष्ठा र इमानको पर्याय भएको उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन गत मंसिर १६ गते शुक्रबार साँझ सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्ट पुगेका ६९ वर्षीय भट्टराई १७ गते शनिबार बिहान होटलको कोठामा मृत अवस्थामा भेटिएका थिए ।

स्वर्गीय भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक सभापति र नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपसभापति समेत थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


