धनुषामा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीलाई मारे

जनकपुरधाम, २६ मंसिर । धनुषामा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको बटेश्वर गाउँपालिका–५ शान्तिपुर बस्ने २८ वर्षीया रिता यादवलाई उनका पति वीरेन्द्र यादवले बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।
बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी रितालाई विरेन्द्रले जनकपुरधामस्थित काव्या अस्पताल पुर्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको छ । घटना पश्चात प्रहरीले थालेको अनुसन्धानमा विरेन्द्रले बञ्चरो प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
डिएसपी क्षेत्रीका अनुसार घटनालाई मोड्न विरेन्द्रले आफै बञ्चरो प्रहार गरी अज्ञात समूहले गरेको र आफू उपचारको लागि श्रीमतीलाई हस्पिटल पुर्याएका थिए । शंका लागेर सोधपुछ तथा अनुसन्धान थालेपछि विरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी श्रीमतिको हत्या गरेको खुलेको डिएसपी क्षेत्रीले बताए ।
उनले प्रहार गरेको बञ्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेका थिए । बञ्चरो प्रहरीले बरामद गरेको छ । श्रीमान विरेन्द्रलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उनको ४ वर्षीय ६ वर्षीय गरी दुई छोरा छन् । स्थानीयका अनुसार विरेन्द्रले श्रीमतिलाई कुटपिट तथा यातना दिँदै आएका थिए । तीन महिना अघि विरेन्द्रले विहेमा पाएको फर्निचरसहितका समान लिएर रितालाई माइत महोत्तरीको भंगहा नगरपालिका–९ अजगेबा पुर्याएका थिए । त्यहाँका स्थानीयले उनलाई घर फर्काएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


