काठमाडौं, २५ मंसिर । प्रहरीले ठगी र कीर्तेमा संलग्न ८ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं–२६ स्थित नयाँ बसपार्क इलाकामा आन्तरिक राजस्व कार्यालयको नक्कली युनिफर्म र परिचयपत्रसमेत लगाएर आफूलाई आन्तरिक राजस्वको कर्मचारी बताउनेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिनबहादुर बिक, सृजना भट्टराई, सागरजंग लुहार, प्रमिशा तामाङ, दूधकला बिक, अञ्जना तामाङ, राजिब बिष्ट र डेबिड धामी छन् । उनीहरूको साथबाट प्रहरीले आन्तरिक राजस्व कार्यालय लेखेको स्टाम्प दुई थान, अनुगमन अधिकृत लेखिएको स्टाम्प एक थान, हस्ताक्षर भएको स्टाम्प एक थान, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलीहरू, राजस्वसम्बन्धी किताबहरू र आन्तरिक राजस्व कार्यालयको परिचयपत्र सात थान बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले विभिन्न होटेल तथा रेस्टुरेन्टमा राजस्व अनुगमनका लागि आएका हौँ भनी नयाँ बसपार्कस्थित होटेल तथा रेस्टुरेन्टहरूले विभिन्न बहानामा कर छली गर्ने गरेकाले नगद जरिवाना तिर्नुपर्ने भन्दै आन्तरिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद दिई पैसा असुल गरिरहेको अवस्थामा प्रहरी वृत्त महाराजगन्जबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पीडितहरूबाट प्राप्त रसिद र मोबाइल पेबाट समेत गरी जम्मा ५ लाख ८ हजार ६४० रुपैयाँ संकलन गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।