उपभोक्ता समितिद्वारा भुक्तानी माग्दै मधेस प्रदेशको अर्थ मन्त्रालय घेराउ

जनकपुरधाम, २५ मंसिर । उपभोक्ता समितिले भुक्तानी माग्दै मधेस प्रदेशको अर्थ मन्त्रालय घेराउ गरेको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलगायत अन्य मन्त्रालयका विभिन्न योजनाहरुको विकास निर्माणको काम गरेपनि भुक्तानी अहिलेसम्म नभएको भन्दै समितिले मन्त्रालय घेराउ गर्दै प्रदर्शन गरेको हो ।
काम गरेको महिनौ बितिसक्दासमेत भुक्तानी नपाएकोले यथाशीघ्र आफूहरुको भुक्तानी हुनुपर्ने माग गर्दै समितिका पदाधिकारीहरुले नारा जुलुससहित प्रदर्शन गरेका छन् ।
धनुषाको धनौजी गाउँपालिकामा पिसिसि ढलानको काम गरेका सुभाष झाले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न मन्त्रालय अन्तर्गतको चारदर्जन विकास निर्माणको काम गरेका उपभोक्ता समितिले काम सम्पन्न गरेको महिनौ बितिसक्दा पनि भुक्तानी नपाएकोले आज बाध्य भएर मन्त्रालय घेराउ गरेको जानकारी दिए ।
उनले आफूहरुले काम सम्पन्न गरेको महिनौं बितिसकेको अवस्थामा अब बैंकको व्याज तिर्नसमेत समस्या भइरहेपनि भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको गुनासो सुनाए । बैंकको व्याज महिनाको ८० हजार तिर्नुपरेको उनले सुनाए । भुक्तानीको विषयमा प्रमुख सचिवले कुरा गर्नसमेत नमानेको उनले बताए ।
उनीहरुले मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेको थियो ।
यता, चुनावको कारणले केही महिना अगाडी देखि नै आचारसंहिता लागिसकेको अवस्थामा उपभोक्ता समितिको भुक्तानी गर्न नसकेको सम्बन्धित मन्त्रालयहरुले जानकारी दिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको ३२ वटा योजनाको करोडौं रकम भुक्तानी गर्न बाँकी रहेको छ । यसमा अन्य मन्त्रालयहरुमा गरेको कामकाज पनि रहेको छ ।
अन्य मन्त्रालयहरुको पनि विभिन्न उपभोक्ता समितिहरुको करिव १ अर्ब भुक्तानी गर्न बाँकी छ ।
यसअघि, आर्थिक वर्ष २०७५/०७६ मा पनि प्रदेश सरकारको योजनाको बाँकी भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले मुख्यमन्त्री लालबाबु राउत लगायत केही मन्त्रीको तस्बिर अंकित व्यानरमा जुत्ता प्रहार गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


