जनकपुरधाम, २३ मंसिर । चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना बित्नलाग्दा पनि देशभरका ८ वटा स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेका छैनन् । असार १० गतेभित्र सार्वजनिक गर्नुपर्ने बजेट ती स्थानीय तहले मंसिर बित्नलाग्दा पनि सार्वजनिक गर्न सकेका छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ७४५ स्थानीय तहले मात्र हालसम्म बजेट पेस गरेका छन् । बजेट पेस नगरेका ८ स्थानीय तह मध्ये मधेस प्रदेशका ७ स्थानीय तहहरू रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

मधेस प्रदेशका कुल १३६ स्थानीय तह मध्ये १२९ स्थानीय तहले मात्र बजेट पेस गरेको पाइएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिला बितिसक्दा पनि मधेस प्रदेशका ७ स्थानीय तहले बजेट सार्वजनिक गरेका छैनन् ।

यस प्रदेशमा बजेट पेस गर्ने स्थानीय तह ९४.९ प्रतिशत रहेका छन् । प्रदेशका ५.१ प्रतिशत स्थानीय तहले अझै बजेट पेश गरेका छैनन् ।

बजेट पेस गर्न नसकेका प्रदेशका ७ स्थानीय तहमध्ये सिरहाका २, धनुषाका २, रौतहटका २ र सर्लाहीका १ पालिका रहेका छन् ।सिरहाका १७ पालिकामध्ये कर्जन्हा नगरपालिका र औरही गाउँपालिकाले बजेट प्रविष्ट गर्न सकेका छैनन् ।

यता, धनुषाका १८ स्थानीय तहमध्ये कमला नगरपालिका र नगराइन नगरपालिकाले अझै बजेट प्रविष्ट गर्न सकेका छैनन् भने रौतहटका १८ स्थानीय तहमध्ये बजेट नल्याउने पालिकामा बौधीमाई नगरपालिका र यमुनामाई गाउँपालिका रहेका छन् ।

त्यस्तै, सर्लाहीको २० स्थानीय तहमध्ये विष्णु गाउँपालिकाले बजेट ल्याउन बाँकी रहेको छ ।

उता, लुम्बिनी प्रदेशको बाँके जिल्लाका ८ स्थानीय तहमध्ये डडुवा गाउँपालिकाले बजेट ल्याउन नसकेको छ ।

प्रदेश नम्बर–१ का १३७, बागमती प्रदेशका ११९, गण्डकी प्रदेशका ८५, कर्णाली प्रदेशका ७९ र सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहहरुले भने बजेट ल्याइसकेका छन् ।