उद्योग महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, २२ मंसिर । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रमा ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।
बिहीबार महासंघले पत्रकार सम्मेलन गर्दै एकैपटक ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावली विपरित भएकाले तत्काल निर्णय फिर्ता लिन माग गरेको हो ।
वि.सं.२०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडावृद्धिको मापदण्ड बनाएर ५/५ वर्षमा भाडा वृद्धि गर्नुपर्नेमा नियमविपरित २०७२/२०७३ सालमा १५/१५ प्रतिशतले भाडा वृद्धि गर्ने र २०७५ मा एकैपटक ७०० प्रतिशतसम्म वृद्धि गर्ने कार्य नियम विपरित भएको महासंघले बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष रामहिरा पाठकले महासंघको आग्रहलाई बेवास्ता गरे पहिलो चरणमा मंसिर २५ गतेदेखि भाडा वृद्धि फिर्ता गर्न मागसहितको कालो ब्यानर तथा कालो झण्डा प्रदर्शन गर्ने, लिमिटेडलाई भाडा, शुक्ल आदि रकम भुक्तानी नगर्ने र महाप्रबन्धकको कार्यकक्ष तथा क्षेत्र व्यवस्थापकको कार्यकक्षमा सांकेतिकरुपमा एकदिने तालाबन्दी गर्ने चेतावनी दिए ।
उनले नाफाको व्यापार राज्यले गर्ने नभएको भन्दै उद्योगहरू अहिले धराशायी अवस्थामा पुगेको बताए । उनले आर्थिक मन्दीको कारण उत्पादन र बिक्री घटेको, बैंकको ब्याज बढेको अवस्थामा राज्यले उद्योगलाई बचाइराख्न छुट, सुविधा र सहुलियत दिनुपर्नेमा राज्यबाट सञ्चालित लिमिटेडले उल्टै ७ सय प्रतिशतसम्म भाडा वृद्धि गरेको बताए ।
महासंघले सरकारले भाडावृद्धि तत्काल फिर्ता गरी नेपाल औद्योगिक क्षेत्र, उद्योग महासंघलाई वार्तामा बोलाइ सहमतिको निर्णय कार्यान्वयन गर्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


