मधेस प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने

जनकपुरधाम, २२ मंसिर । मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ ।
मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक तर्फको मत परिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएको हो ।
१०७ सिट रहेको मधेश प्रदेश सभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा एमालेले समानुपातिकमा ८ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ ।
यस्तै, प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी ९ सिट जिते पनि २२ सिटसहित दोस्रो स्थानमा छ ।
२०७४ को निर्वाचनमा मधेशमा पहिलो दल बनेको जसपा यसपालि प्रदेश सभामा तेस्रो दल बनेको छ । जसपाले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सहित १६ सिट जितेको छ ।
प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा ७ सिट हासिल गरी १३ सिटसहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा दुई सिट पाएर पाँचौं दल भएको छ ।
मधेशमा माओवादीले प्रत्यक्ष र समानुपातिकमा चार/चार गरी ८ सिट जितेको छ भने नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ सिट पाएको छ ।
प्रत्यक्षमा ६ सांसद स्वतन्त्र उम्मेदवारीबाट आएका छन् ।
राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष तर्फ नजितेपनि समानुपातिकतर्फ एक/एक सिट जितेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


