जनकपुरधाम, २२ मंसिर । धनुषाको मिथिला नगरपालिकास्थित लालगढ मोडेल हस्पिटलले उपचारका नाममा बिरामी ठग्दै आएको आरोप लागेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित लालगढ मोडेल हस्पिटलानसँग पीडितले यस्तो आरोप लगाएका हुन् ।

बिरामी भर्ना गर्ने बेलामा एकथरी र डिस्चार्ज गर्ने बेलामा अर्कोथरी कुरा गरेर ठगि गर्ने गरेको धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ गोदारका पीडित सुरेन्द्र साहले आरोप लगाए ।

प्याकेजमा उपचार गर्ने नाममा झुक्याएर डिस्चार्जको समयमा बढी रकमको बिल थमाएर लुट्ने गरेको उनको आरोप छ ।

गत मंसिर १८ गते मोटरसाइकल दुर्घटनामा उनका भाई कमलेश कुमार साहको खुट्टा भाँचिएको थियो । सुरेन्द्रका अनुसार बिरामीको सबै अवस्था देखेर प्याकेजमा ५० हजारमा अप्रेशनसहित सम्पूर्ण उपचार गर्ने अस्पताल व्यवस्थापनले बताएको थियो । डिस्चार्ज गर्ने बेला भने करिब ७१ हजारको बिल तिर्न लगाएर ठगी गरेको सुरेन्द्रले बताए । अन्तमा ६८ हजार रुपैयाँ तिरेर मंसिर २२ गते राति नै बिरामीलाई डिस्चार्ज गराएको उनले बताए ।

यस विषयमा हस्पिटलले कमलेशको अप्रेशन जटिल भएको र बढी समय लागेकोले अन्य बिल बढ्न गएको आफन्तलाई जवाफ दिएको छ । यो हस्पिटलले सुरुमा यसरी नै सस्तोमै प्याकेजमा उपचार गर्ने र पछि डिस्चार्जको बेला बढीको बिल थमाउने गरेको अन्य पीडितहरुले गुनासो गरेका छन् ।