महोत्तरी, ०७ असोज । महोत्तरीको जलेश्वर नगरपालिका–४ मा नेपाली कांग्रेसको वडा अधिवेशनलाई लिएर विवाद उत्पन्न भएको छ ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा पर्ने जलेश्वर–४ को वडा अधिवेशन प्रक्रिया एकतर्फी रूपमा अघि बढाइएको भन्दै वडा समितिका सचिव अनिलकुमार पाण्डेयले आपत्ति जनाएका छन् ।

वडा सभापति सुरञ्जन पाण्डेयले असोज ४ गते सुगा गाउँमा व्यक्तिविशेषको घरको प्राङ्गणमा आयोजना गरेको भेलाबाट वडा कार्यसमितिदेखि क्षेत्रीय प्रतिनिधिसम्म चयन गरिएको भन्दै सचिव पाण्डेयले उक्त प्रक्रिया विधानसम्मत नभएको दाबी गरेका छन् ।

उनका अनुसार वडाका करिब ५१ प्रतिशत क्रियाशील सदस्यलाई जानकारी तथा सहभागिताबाट वञ्चित गर्दै नेतृत्व र प्रतिनिधि चयन गरिएको हो । वडा अधिवेशनमा सबै क्रियाशील सदस्यको सहभागिता सुनिश्चित गरी लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्ने उनको माग छ ।

सचिव पाण्डेयले विशेषगरी वडा सभापतिको चयन सहमतिका नाममा नभई निर्वाचन प्रक्रियाबाटै टुंगो लगाउनुपर्ने बताएका छन् । उनले जिल्ला तथा केन्द्रीय निर्वाचन समितिलाई निवेदन दिँदै यसअघि गरिएको भनिएको एकतर्फी अधिवेशनलाई अमान्य ठहर गरी पुनः निर्वाचन प्रक्रियामार्फत वडा अधिवेशन गराउन माग गरेका छन् ।

अधिवेशनका लागि खटाइएका पर्यवेक्षक अजित ठाकुरको भूमिकामाथि पनि पाण्डेय पक्षले प्रश्न उठाएको छ । ठाकुर १४औँ महाधिवेशनबाट निर्वाचित जलेश्वर नगरपालिका–१० का वडा सभापति रहेको उल्लेख गर्दै पाण्डेय पक्षले उनलाई पर्यवेक्षकका रूपमा खटाउँदा निष्पक्षता कायम हुन नसकेको दाबी गरेको छ ।

वडा सचिव पाण्डेयले अधिवेशनको विवाद समाधान गरी निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन समितिले तत्परता नदेखाए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

उनले वडा अधिवेशनमा सहभागी सबै क्रियाशील सदस्यको अधिकार सुरक्षित गर्दै निष्पक्ष र पारदर्शी ढंगले नेतृत्व चयनको वातावरण बनाउन कांग्रेसको जिल्ला तथा केन्द्रीय नेतृत्वसँग माग गरेका छन् ।

वडा अधिवेशनलाई लिएर देखिएको विवादका विषयमा अर्को पक्षको धारणा भने सार्वजनिक रूपमा आउन बाँकी छ ।