जनकपुरधाम, ०७ असोज । धार्मिक तथा सांस्कृतिक जागरणको उद्देश्यसहित प्रत्येक वर्ष सञ्चालन हुँदै आएको श्रीगजेन्द्रमोक्ष–नारायण मुक्तिनाथ रथयात्रा यस वर्ष पनि राष्ट्रव्यापी रूपमा सञ्चालन हुने भएको छ ।

आयोजकका अनुसार २०८१ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको रथयात्रा यस वर्ष कोजाग्रत पूर्णिमादेखि सुरु भएर हरिबोधिनी एकादशीमा समापन हुनेछ ।

मुक्तिनाथमा षाड्मासिक श्रीमुक्तिनाथ महोत्सव तथा महायज्ञ सम्पन्न भएपछि रथयात्रा मेचीदेखि महाकालीसम्म सञ्चालन गरिने जनाइएको छ ।

रथयात्रामा सहभागिताका लागि आमन्त्रण गर्न जनकपुरधाम आएका श्रीगजेन्द्रमोक्ष–नारायण मुक्तिनाथ रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले रथयात्राको मुख्य उद्देश्य धार्मिक तथा सांस्कृतिक जागरणसँगै नेपालका पवित्र तीर्थस्थलको महिमा देश तथा विदेशसम्म पुर्याउनु रहेको बताए ।

उनका अनुसार मुक्तिनाथ, शालिग्राम, कालीगण्डकीलगायत नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै वैदिक सनातन धर्म, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्ने अभियानका रूपमा रथयात्रा सञ्चालन हुँदै आएको छ ।

आयोजकले धर्म, नीति, सदाचार र मानवताप्रति जनचेतना बढाउने उद्देश्यले रथयात्रा तथा महायज्ञलाई निरन्तरता दिइएको जनाएको छ । श्रीमुक्तिनाथ महोत्सव भने २०५४ सालदेखि सञ्चालन हुँदै आएको आयोजकको भनाइ छ ।

मेचीदेखि महाकालीसम्म सञ्चालन हुने रथयात्राले विभिन्न धार्मिक तथा सांस्कृतिक स्थललाई जोड्ने र तीर्थस्थलहरूको धार्मिक महत्वलाई व्यापक रूपमा प्रचारप्रसार गर्ने आयोजकको विश्वास छ ।

रथयात्रामा विभिन्न स्थानका धार्मिक संघसंस्था, साधुसन्त तथा श्रद्धालुको सहभागिता रहने जनाइएको छ ।