सर्लाही, २१ मंसिर । सर्लाहीमा घरको बरण्डाबाट लडेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ बिरेन्द्र बजारका ५० वर्षीय भरतलाल लामा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार लामा लालबन्दी नगरपालिका–१ स्थित संजय कुशवाहाको घरमा डेरा गरी बस्दै आएका थिए ।

मंगलबार राति साढे ८ बजेको समयमा बरण्डामा बस्ने क्रममा अचानक तल खसेर उनी गम्भीर घाइते भएका थिए । उनको हरिवनस्थित नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतक लामाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।