जनकपुरधाम, २० मंसिर । जनकपुर जेसीजका पूर्वअध्यक्ष गौतम साहले संस्थालाई चौतर्फि घेराबन्दीमा पारिएको आरोप लगाएका छन् ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि साहले केही पूर्वअध्यक्ष तथा पदाधिकारीहरुले संस्थालाई आफूअनुकूल चलाउन खोजिरहेको आरोप लगाएका हुन् ।

साहले केहि मिडिया र सामाजिक सञ्जालमा जनकपुर जेसीजलाई जोडेर अनियमितता सहितको विवादित समाचारहरु प्रकाशन/प्रसारण भएको घटनालाई केलाउँदै त्यसको सम्पूर्ण दोष केही पदाधिकारीहरुमाथि लगाएका छन् ।

उनले जेसीजका उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष मिलेर व्यापक रुपमा संस्थाविरोधी गतिविधीहरु गरेको र संस्थाको पैसालाई व्यक्तिगत प्रजोजनमा खर्च गरेको आरोपसमेत लगाए ।

उनले आफू अध्यक्ष रहेको बेलामा नेपाल जेसीजबाट प्राप्त हुने भनिएको आर्थिक सहायता रकम सन् २०२२ मा संस्थाले प्राप्त गर्दा केही पदाधिकारीहरु मिलेर फर्जि काम गरेको जिकिर गरेका छन् । संस्थामा यस्तै अनियमितताहरुको खोजतलास गर्दा आफूविरुद्व षडयन्त्र भइरहेको समेत उनले बताए ।

उनले आफ्नै पालामा संस्थाको भवन निर्माण भएको र त्यसक्रममा नेपाल जेसीजले जनकपुर जेसीजलाई १ लाख रुपैयाँ आर्थिक सहायता गर्ने निर्णयसमेत गरेको बताए । नेपाल जेसीजले पैसा पठाउन केही समय लगाईरहेको देख्दा आफूले व्यक्तिगत रकमको प्रयोग गरेर संस्थाको भवन निर्माणका लागि चाहिने निर्माण सामग्री खरिद गरेको गौतमले दाबी गरे ।

गौतमले नेपाल जेसीजले पैसा पठाउँदा आफ्नो कार्यकाल समाप्त भइसकेको र सो पैसा पाउन संस्थाका २०२१ का अध्यक्ष मनोज साह र कोषाध्यक्ष उपेन्द्र साह मिलेर मेगा बैंकमा खाता खोलाई संस्थामा आएको रकमलाई दुरुपयोग गरेको दाबीसमेत गरेका छन् ।

नेपाल जेसीजबाट वर्ष २०२२ को जनवरी महिनामा जनकपुर जेसीजको खातामा पठाएको रकम जनकपुरधामस्थित मेगा बैंकमा जेसिआइ जनकपुरको नामले रहेको खाता नं.२१३००१००३०३६३ मा वर्ष २०२१ मा जनकपुर जेसीजका अध्यक्ष मनोज कुमार साह र का.का. उपाध्यक्ष उपेन्द्र कुमार साहको संयुक्त हस्ताक्षरबाट खुलेको खातामा जम्मा भएपनि सो खाताबाट वर्ष २०२२ को मार्च महिनामा जनकपुर जेसीजलाइ कुनै जानकारी नै नगराइ एवम् खाताबाट रकम निकाल्ने कुनै निर्णय नै नभएको भएतापनि खाताबाट सो रकम मनोज र उपेन्द्रले निकालेर संस्थामा जानकारी नगराएको उनको दाबी छ ।

उनले संस्थामा भोलिको दिनमा पनि यस किसिमको आर्थिक चलखेल हुनसक्ने भएकोले संस्थाको गरिमा बचाउनतर्फ सम्पूर्ण पदाधिकारीहरुलाई एकजुट हुन आह्वानसमेत गरे ।