उषा राईको हत्या आरोपमा चारजना महिला पक्राउ

काठमाडौं, २० मंसिर । धरानकी एकल महिला उषा राईको हत्या आरोपमा प्रहरीले चारजना महिलालाई पक्राउ गरेको छ । पक्राउ गरिएका उनीहरुलाई मंगलबार सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा मुख्य आरोपी धरान–१३ की ५५ वर्षीया उर्मिला राई छिन् । उर्मिलाले आफ्नो श्रीमान् गोविन्द राईसँग उषा नजिकिएको भन्दै महिलाको समूह बटुलेर गत कार्तिक ३ गते कुटपिट गरेको आरोप लागेको छ ।
पक्राउ परेका अन्यमा २६ वर्षीया सुमित्रा राई, २९ वर्षीया सुसेली राई र ४० वर्षीया रत्न लिम्बू छन् ।
४२ वर्षीया राईलाई कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । कुटपिटपछि उषाको मंसिर १३ गते उपचारकै क्रममा मृत्यु भएको थियो ।
मृतकका भाइ सुन्दर राईले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको धरानस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले उक्त घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाहरुको पनि खोजी र अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


