काठमाडौं, २० मंसिर । प्रहरीको साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाएर ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

साइबर ब्यूरो नेपाल नामको नक्कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्याउन खोज्ने चितवन झुवानीका करण महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

साइबर ब्यूरोका अनुसार महतोले साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्याउने र उनीहरूसँग जानकारी बटुलेर ठगी गर्ने अभिप्राय राखेको ब्यूरोले जनाएको छ ।

रत्ननगर नगरपालिका–५ झुवानीका १८ वर्षीय महतोले हालसम्म के–कति मानिसलाई झुक्यानमा पारी ठगी गरे भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ब्यूरोले मंगलबार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।