नेहाले श्रीमान् पंकजविरुद्ध दिइन् दुईवटा मुद्दा

जनकपुरधाम, २० मंसिर । श्रीमानले आफूमाथि घरेलु हिंसा गरेको आरोप लगाउने महोत्तरीकी नेहा चौधरीले श्रीमान् पंकज चौधरीविरुद्ध दुईवटा मुद्दा दायर गरेकी छन् ।
नेहाले आफूलाई पटक–पटक शारीरिक तथा मानसिक यातना दिएको भन्दै चिकित्सकसमेत रहेका आफ्ना श्रीमान् पंकजविरुद्ध जिल्ला अदालत महोत्तरीमा घरेलु हिंसा र दाइजो सम्बन्धी मुद्दा दायर गरेकी हुन् ।
महोत्तरीको औरही नगरपालिका–१ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर नगरपालिका–५ घर भएका पंकजबीच २०७८ फागुन २५ गते विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाको गुनासो छ ।
ग्राण्डी अस्पतालमा जनरल फिजिसियनका रुपामा कार्यरत पंकजको यो घटना बाहिरिएसँगै अस्पतालबाट बर्खास्त भएका छन् ।
यता, पंकजले आफूमाथि नेहाले लगाएको सबै आरोप झुठो, कपोलकल्पित र निराधार रहेको दावी गरेका छन् । उनले उल्टै नेहाले नै आफूलाई मानसिक यातना दिँदै आएको आरोप लगाए ।
पंकजले बिहे भएको केही दिन नबित्दै नेहा सानोतिनो विषयमा पनि आफूसँग झगडा गर्दै आएको बताए । उनले भने, ‘नेहा सानो सानो विषयमा पनि मसँग झगडा गर्थिन, म सम्बन्ध बचाउनकालागि पटक पटक मनाउने प्रयास गर्थे । मैले नेहामाथी कहिल्यै हातपात गरेको छैन, बरु पटक पटक उनलाई बचाउने प्रयास गरेको छु ।’ पंकजका अनुसार नेहाले पटक पटक आत्महत्याको प्रयास समेत गरेकी छन् ।
मेरो बुवा रामप्रवेश चौधरीले हाम्रो विवाहका लागि नेहाको परिवार समक्ष मलाई डाक्टरी पढाउन लागेको सबै खर्च व्यहोर्नुपर्ने शर्त राखेको कुरा विल्कुलै गलत रहेको र नेहाका बुवा सुरेश चौधरीले आफ्नो परिवारलाई ५१ लाख रुपैयाँ दिएको कुरा पनि झुटो रहेको पंकजको जिकिर छ ।
नेहासँग प्रेम सम्बन्धमा रहेपनि उसको यही सानोतिनो विषयमा झगडिने बानीका कारण विवाह गर्ने पक्षमा आफू नरहेको बताउँदै पंकजले नेहाको घरपरिवारको दवाबका बिच विवाह गर्नुपरेको सुनाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


