पुष्पा न्यौपाने मृत्यु प्रकरणमा पक्राउ परेका ४ मध्ये तीनजना थुनामुक्त

काठमाडौं, २० मंसिर । काठमाडौंको धुम्बाराहीमा आफैंलाई पेट्रोल खन्याएर जलाएकी महिलाको मृत्यु प्रकरणमा पक्राउ परेका ४ जनामध्ये तीनजना थुनामुक्त भएका छन् ।
मृतक नुवाकोटी २७ वर्षीया पुष्पा न्यौपानेसँग इन्गेजमेन्ट गरेका २९ वर्षीय सुधन संग्रौला हिरासतमै छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जिल्ला अदालत, काठमाडौंले सुधनबाहेक अन्यलाई हिरासतमा राख्न अनुमति दिएको छैन ।
प्रहरीले सोमबार सुधनसहित उनका बुबा ५७ वर्षीय दिनेश संग्रौला, आमा बिन्दु संग्रौला र २९ वर्षीया मधु संग्रौलालाई पक्राउ गरेको थियो । जाहेरी आएपछि परिवारका अन्य सदस्यलाई पनि पक्राउ गरिएपनि अदालतले थुनामा राख्न अनुमति नदिएको प्रहरीले जनाएको छ ।
एसपी मैनाली भन्छन्, ‘हाजिर जमानीमा राखेर अनुसन्धान गर्न भनेपछि एकजनालाई मात्र नियन्त्रणमा राखेका छौं ।’
सुधन र पुष्पाबीच १८ भदौमा विवाह गर्नका लागि बुद्धनगरमा इन्गेजमेन्ट भएको थियो । एक वर्षभित्र विवाह गर्ने सहमति भएपनि शनिबार मात्रै केटा पक्षले घरमा पुगेर जनै सुपारी र दक्षिणा फिर्ता गर्दै इन्गेजमेन्ट तोडिएको घोषणा गरेको थियो । त्यसको भोलिपल्ट न्यौपानेले सुधनको घर अगाडि गएर आफनो शरीरमा आगो लगाएकी थिइन् ।
प्रहरीले उनलाई उद्दार गरेर अस्पताल लगे पनि सोमबार कीर्तिपुरस्थित वर्न अस्पतालमा उनको मृत्यु भयो । पुष्पाको परिवारले जलुञ्जेलसम्म पनि उद्दार नगरेको भन्दै युवक र उनको परिवारका अरु सदस्यविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएको छ ।
प्रहरीले घटनाको थप कारणबारे अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


